बजेट फ्रिज हुने भएपछि अन्यत्र लग्यौँ : वडाध्यक्ष रानाभाट

बजेट फ्रिज हुने भएपछि अन्यत्र लग्यौँ : वडाध्यक्ष रानाभाट

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-२ का वडाध्यक्ष मनोज रानाभाटले बागमती प्रदेश सरकारबाट नहर पिचको लागि आएको बजेट फ्रिज हुने देखिएपछि अन्यत्र लगेको बताएका छन् ।

बागमती प्रदेश सरकारबाट भरतपुर–२ को वडा कार्यालयनजिक नारायणी लिफ्ट सिंचाइको माथिल्लो नहरको पिचको लागि आएको २० लाख रूपैयाँ फ्रिज हुने भएपछि तल्लो नहरको पिचमा लगाएको वडाध्यक्ष रानाभाटले बताए । नहरमा क्षति पुग्ने भएकाले तत्काल पिच गर्न सिंचाइले रोकेको रानाभाट बताउँछन् ।

चितवन पोष्टसँगको कुराकानीमा उनले भने, ‘माथिल्लो नहरको पिचमा बजेट हाल्न सिंचाइ कार्यालयले पनि रोक्यो, महानगरले पनि सो ठाउँमा तत्काल बजेट नहाल्न आग्रह गरेको थियो, कतै पनि नहाले बजेट फ्रिज हुने भयो, त्यसैले तल्लो नहरको पिचमा बजेट लगाइयो । जहाँ हाले पनि आखिर वडाकै विकास हो ।’ उनले वडा कार्यालय समग्र वडाको समान ढंगको विकासमा लागेको बताए ।

वडा सदस्य परशुराम पौडेलले अध्यक्ष रानाभाटले तल्लो नहरमा बजेट हाल्ने भनेर जानकारी गराएको बताए । उनले भने, ‘यस विषयमा वडा कार्यालयमा छलफल भयो, अर्को वर्ष माथिल्लो नहरमा बजेट हाल्ने र अहिलेको २० लाख बजेट तल्लो नहरकै पिचमा लगाउने निर्णय भएको छ ।’

अर्का सदस्य बलराम सिटौलाले प्रदेशबाट आएको बजेट माथिल्लो नहरकै लागि आएको तर ‘सिंचाइले रोक्यो’ भनेपछि स्थानीयलाई आफैँले तत्काल जानकारी गराइएको बताए । उनले भने, ‘सिंचाइले रोक्यो भनेपछि स्थानीयवासीलाई खबर गरियो, स्थानीयले तत्काल यो विषयमा चासो कम दिए, सुरूमै चासो दिएको भए त्यतिबेला एउटा निष्कर्ष पुगिन्थ्यो ।’

प्रदेशले बजेट माथिल्लो र तल्लो नहर भनेर तोकेर बजेट दिएको थिएन । अध्यक्ष रानाभाटका अनुसार प्रदेशले नहर पिचमात्र भनेर बजेट दिएको र माथिल्लो नहरमा हाल्न नदिएपछि जनप्रतिनिधिको सहमतिबाटै तलको नहरमा बजेट हालिएको हो ।

Share this Post



Leave a Reply